राज्य सञ्चालनमा विचार र विवेक हराउँदै गएको छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राज्य सञ्चालनमा विचार र विवेक कमजोर हुँदै गएको टिप्पणी गर्नुभएको छ। उहाँले देशमा निरङ्कुशता, अराजकता र विवेकहीन प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षाका लागि विचार तथा सिद्धान्तमा विश्वास गर्ने शक्तिहरू पुनः एकताबद्ध हुनुपर्ने बताउनुभयो।

सम्बोधनका क्रममा उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै राज्य सञ्चालनमा विचारको अभाव र आवेग तथा आग्रह–पूर्वाग्रह हाबी हुँदै गएको बताउनुभयो।

प्रचण्डले जनतालाई त्रसित बनाउने, चिमोट्ने र चिथोर्ने खालका प्रवृत्ति मौलाउँदै गएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध सिद्धान्त र विचारको राजनीति गर्ने शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले विवेक, विचार, सिद्धान्त र राष्ट्रियताको पक्षमा रहेका शक्तिहरूले फेरि एकपटक एकताको झण्डामुनि गोलबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतामाथि चुनौती देखिएको उल्लेख गर्दै प्रचण्डले देशको अस्तित्व र राजनीतिक आन्दोलनको रक्षाका लागि बृहत् एकता आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय स्वाधीनता कायम रहे मात्रै सबैको अस्तित्व सुरक्षित रहने उहाँको भनाइ थियो।