झापा।। राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको ९३।३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०।२१ प्रतिशतबाट बढेर ९३।३० प्रतिशतमा पुगेको छ ।

उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८१र८२ मा कार्यालयलाई रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो। सो वर्ष रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गर्दै कार्यालयले लक्ष्यको ९१।८६ प्रतिशत हासिल गरेको थियो ।

आर्थिक वर्ष २०८०र८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो । त्यस वर्ष लक्ष्य प्राप्ति दर ७८।४० प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७९र८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएकामा रु १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व सङ्कलन भएको थियो । त्यसबेला लक्ष्य प्राप्ति दर ७०।२१ प्रतिशत रहेको थियो ।

चार आर्थिक वर्षको तथ्याङ्कले लक्ष्य प्राप्ति दरमा निरन्तर सुधार भएको देखाएको छ । यस अवधिमा लक्ष्य प्राप्ति ७०।२१ प्रतिशतबाट बढेर ९३।३० प्रतिशत पुगेको छ । वार्षिक लक्ष्यमा केही उतारचढाव भए पनि वास्तविक राजस्व सङ्कलन भने पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको छ ।

विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो। कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहेकामा हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी माङ्कल राईले जानकारी दिएका थिए । अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन् ।

मेची भन्सारबाट भारत, चीन, बङ्गलादेश, भुटानलगायत मुलुकमा निकासी पैठारी हुँदै आएको छ ।रासस