काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। उनले कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए परमाणु हतियार समेत प्रयोग गर्न सकिने चेतावनी दिएका छन्।

बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि हमला नगर्ने प्रस्तावलाई ‘हास्यास्पद’ बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच सेप्टेम्बर २२ मा भएको भेटपछि यस्तो प्रस्ताव अघि सारिएको थियो।

पुटिनले युक्रेनका ऊर्जा पूर्वाधारमाथि रुसले पनि प्रहार गरिरहेको स्वीकार गरे। रुसी तेल प्रशोधन केन्द्रमाथिका युक्रेनी आक्रमणले आफ्नो देशको कुल गार्हस्थ उत्पादनमा करिब १ प्रतिशत असर परेको उनले बताए।

पुटिनले रुस वार्तामार्फत युद्ध अन्त्य गर्न इच्छुक रहेको उल्लेख गरे। शत्रुता अन्त्य भएपछि युक्रेनलाई तटस्थ राष्ट्रका रूपमा हेर्न चाहेको पनि उनले बताए।

कालिनिनग्रादमा परमाणु हतियारको चेतावनी

पोल्यान्ड र लिथुआनियाबीच रहेको रुसी भूभाग कालिनिनग्रादलाई अलग्याउने वा प्रत्यक्ष आक्रमण गर्ने प्रयास भए रुसले आफ्नो सम्पूर्ण हतियार भण्डार प्रयोग गर्ने पुटिनले चेतावनी दिए। त्यसमा परमाणु हतियार समेत पर्ने उनले बताए।

पुटिनको यो भनाइ नेटोले रुसबाट प्राप्त कूटनीतिक नोटबारे सार्वजनिक गरेको विवरणपछि आएको हो। उक्त नोटमा कालिनिनग्रादलाई रुसबाट अलग पार्ने प्रयास भए परमाणु हतियार प्रयोग गर्न सकिने चेतावनी दिइएको थियो। नेटो महासचिव मार्क रुट्टेले भने परमाणु धम्की अनुपयुक्त रहेको बताएका छन्।

पुटिनले बढ्दो प्रतिशोधात्मक कदमले द्वन्द्वलाई ‘फर्कन नसकिने घातक विन्दु’तर्फ धकेल्न सक्ने चेतावनी समेत दिएका छन्