काठमाडौं।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनुले स्वतन्त्र प्रेसप्रति सरकारको प्रतिबद्धता कमजोर रहेको पुष्टि हुने राप्रपाको ठहर छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै समाचारको विषयमा उजुरी र छानबिन गर्ने प्रेस काउन्सिलजस्ता वैधानिक निकाय हुँदाहुँदै सिधै प्रहरी प्रशासन प्रयोग गरिनु गलत भएको बताएका छन्। “समाचारको विषयमा छानबिन गर्ने निकाय छाडेर सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन,” उनले भनेका छन्।
राज्यका संयन्त्रहरूको मनोबल कमजोर बनाएर सरकारले के हासिल गर्न खोजेको भन्दै प्रश्नसमेत उठाइएको छ। राप्रपाले स्वतन्त्र प्रेसलाई निर्वाध काम गर्ने वातावरण बनाउन, सम्बन्धित निकायबाटै नियमन गराउन र पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्