काठमाडौं,। प्रतिनिधिसभा आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न र किसानलाई तत्काल मलखाद उपलब्ध गराउनेलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।सांसद नरेन्द्रकुमार केरुङले कोशी प्रदेशको जनताको अपेक्षा पूरा गर्न तमोर जलाशययुक्त आयोजना तत्काल सुरु गर्न सरकारको ध्यानार्कषण गराएका थिए । सांसद सीता थपलियाले क्यान्सर उपचारका लागि प्रयोग हुने महत्त्वपूर्ण औषधिको अभाव हुन नदिन र बिरामीलाई सहजै उपब्ध गराउने व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका थिए ।

सांसद निश्कल राईले गुणस्तर परीक्षण नगरिएको भन्दै भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेसँगै नेपाली चिया उद्योग प्रभावित भएकाले तत्काल निर्यातको वातावरण बनाउन माग गरेका थिए । चिया निर्यातको सहज वातावरण बनाउन सरकारीस्तरमा नै सम्झौता हुनुपर्ने उनले धारणा राखेका थिए ।सांसद पार्वती विकले दाङको तुलसीपुरमा एक युवतीमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्र्नुपर्ने बताएका थिए । उनले माइतीघरमण्डलमा विभिन्न माग राख्दै प्रदर्शनमा बसेकाको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए ।

सांसद खुश्बु ओली कुवेतको विभिन्न जेलमा रहेका नेपाली महिलालाई तत्काल उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । अवैध बाटोबाट खाडीलगायतका क्षेत्रमा नेपाली महिला पुगेको जानकारी दिँदै उनले गैरकानुनी क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।सांसद पूर्णप्रसाद लिम्बूले जलविद्युत् आयोजनाले अनधिकृत रूपमा प्राकृतिक स्रोतको दोहन गरेकाले कानुनी कारबाहीको माग गरेका थिए । जलविद्युत् आयोजनाले स्थानीय आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्नुपर्ने उनले तर्क गरेका थिए ।

सांसद अर्जुननरसिंह केसीले देशका विभिन्न स्थानका सुकुम्बासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।सांसद रजनी श्रेष्ठले ट्राफिक दुर्घटनाले निम्त्याएको घटनाबारे जानकारी गराउँदै सडक सुरक्षा र सचेतना अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।सांसद यशुदाकुमारी बरालले महिलामाथि हुने साइबर बुलिङलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका थिए । उनले पेट्रोलियम पदार्थको मूल्य घटाएर सर्वसाधारणको जीवनयापन सहज बनाउनुपर्ने बताएका थिए ।सांसद विष्णुबहादुर खड्काले सुर्खेतका विभिन्न स्थानमा निर्माण व्यवसायीले काम नगर्दा निर्माणाधीन पुलपुलेसा अलपत्र परेकोबारे सदनको ध्यानाकर्षण गराएका थिए ।

सांसद बोधनारायण श्रेष्ठले धादिङका किसानले भोग्नुपरेको कृषि समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थ्एि । सांसद गोविन्द पन्थीले स्थानीय तहमा बाँदर तथा बँदेल नियन्त्रण गर्न यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरेको थियो ।सांसद विश्वराज पोख्रेलले स्वास्थ्य सेवामा नागरिकको समान पहुँच प्रत्याभूत गर्न आग्रह गरेका थिए । सांसद प्रशान्त उप्रेतीले राष्ट्रिय निकुन्ज क्षेत्रका जङ्गल नजिकका ‘बफर जोन’मा रहेका जनताको समस्यालाई दीर्घकालीन समाधान गर्न आग्रह गरेका थिए ।सांसद इन्दिरा रानामगरले वर्षायाम लाग्न लागेकाले ग्रामीण क्षेत्रका सडक मर्मतको बजेट पुनरावलोकन गर्नुपर्ने बताएका थिए । सांसद शोभा खनालले किसानलाई तत्काल रासायनिक मल तथा बीउबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद बिना गुरुङले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा संलग्न भएकालाई झुटा मुद्दा लगाइएका आपत्ति प्रकट गरेका थिए । सांसद समिना मियाँले स्वास्थ्यकर्मीको पारिश्रमिकको विभेद तत्काल हटाउन आग्रह गरेका थिए । सांसद बसुमाया तामाङले पर्यटकलाई सहज रूपमा आवतजावत गर्ने वातावरण बनाउन र विमानस्थलमा सभ्य र मर्यादित व्यवहार गरिनुपर्ने धारणा राखेका थिए ।सांसद प्रमिला कुलुजुले किसानको मागअनुरुप सहजै प्राप्त गर्नेगरी रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए । सांसद ऐनबहादुर महरले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिताबारे जिज्ञासा राखेका थिए ।

सांसद हरिनादेवी कामीले डडेलधुराका चार सय बढी किसानले खेतीपाती गर्दै आएको जग्गा वन कार्यालयले रोकेकामा आपत्ति जनाएका थिए । सांसद आरेन राईले विभिन्न कालखण्डमा राजनीतिक आन्दोलनको सम्मान गर्न माग गरेका थिए । सांसद गुरु बरालले चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्ति प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए । रासस