प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणको तयारीबारे छलफल
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
सो अवसरमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारी र त्यसक्रममा हुने उच्चस्तरीय भेटवार्ताबारे राजदूत दलेलासँग जानकारी लिएका थिए।
जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्वपूर्ण रहने बताएका थिए। उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै यसलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र गतिमा आवश्यक तयारी गरिरहेको बताएका थिए।
भेटवार्तामा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्