प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल, शान्ति–सुरक्षा मजबुत बनाउन कडा निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर देशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

उक्त छलफलका क्रममा सुरक्षा निकायका प्रमुखहरूले चाडपर्वको समयमा नागरिकको जीउधनको सुरक्षा, सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा देशभर शान्ति–सुरक्षा कायम गर्न अपनाइएका तयारी र व्यवस्थापनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र भरपर्दो बनाउन तीनवटै सुरक्षा निकायबीच आपसी समन्वय, सहकार्य र सूचना आदानप्रदानलाई अझ मजबुत बनाउन निर्देशन दिएका छन्।

उनले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएका छन्।

त्यसैगरी, शान्ति–सुरक्षाको अवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान गरी आवश्यक कदम चाल्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्नुका साथै समग्र मुलुकको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको थियो।