काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु गरेका छन्।
सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागिता छ। बैठकमा बाढीपछिको समग्र अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, पुनरुत्थान तथा आगामी रणनीतिबारे गहन छलफल भइरहेको छ।
बैठकमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिका अध्यक्ष विरबल तामाङ र तारकेश्वरका अध्यक्ष शिव अधिकारी सहभागी छन्। यस्तै, रसुवाका उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, कालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमोका अध्यक्ष बुचुङ तामाङ भौतिक रूपमा उपस्थित छन् भने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले भर्चुअल माध्यमबाट भाग लिएका छन्।
धादिङबाट गल्छीका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) उपस्थित छन्। यस्तै, तनहुँका देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) छलफलमा सहभागी छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्