पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै विशेष घुम्ती कन्सुलर सेवा सञ्चालन गरेको छ। दूतावासले मरिन्हा दास ओन्दास क्षेत्रमा दुईदिने शिविर आयोजना गरी राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवा प्रदान गरेको हो।

दूतावासका अनुसार उक्त शिविरबाट कुल ८२ जना नेपाली सेवाग्राही लाभान्वित भएका छन्। शिविरमार्फत ४० जना नेपाली नागरिकको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहित आवेदन सङ्कलन गरिएको थियो। त्यस्तै, नौ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण गरिएको छ भने ३१ जनाको शैक्षिक तथा अन्य आवश्यक कागजात प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ। दुई जनालाई तयार भइसकेका राहदानीसमेत वितरण गरिएको थियो।

दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार शिविरबाट करिब ६ हजार ७४५ युरो अर्थात् झण्डै १२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। उनले राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता घुम्ती शिविर सञ्चालन गरिएको बताए।

शनिबार र आइतबार सञ्चालन भएको उक्त शिविरमा राहदानीको म्याद सकिएका, म्याद एक वर्षभन्दा कम बाँकी रहेका, हराएका वा क्षति भएका राहदानी नवीकरणका लागि आवेदन लिइएको थियो। साथै बालबालिकाका लागि ई–पासपोर्ट आवेदनसमेत सङ्कलन गरिएको थियो।

दूतावासले तयार भइसकेका राहदानी वितरण गर्नुका साथै प्रहरी रिपोर्ट, शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात प्रमाणीकरणसम्बन्धी सेवा पनि उपलब्ध गराएको जनाएको छ। शिविरमा सहभागी नेपालीहरूले लामो दूरी यात्रा गरेर लिस्बन पुग्नुपर्ने झन्झट हटेको भन्दै दूतावासको पहलको प्रशंसा गरेका थिए।

दूतावासले आगामी दिनमा पनि पोर्चुगलका विभिन्न क्षेत्रमा यस्ता घुम्ती सेवा विस्तार गर्ने जनाएको छ। सोहीअनुसार आगामी जुन ५ र ६ तारिखमा मदेइराको फुन्चाल तथा जुन २० र २१ तारिखमा एजोरेसको पोन्टा डेलगाडामा घुम्ती शिविर सञ्चालन गरिने दूतावासले जानकारी दिएको छ।

यसअघि पनि नेपाली दूतावासले फारो, मदेइरा, पोर्तो र ओदिमिरा लगायतका क्षेत्रमा घुम्ती कन्सुलर सेवा सञ्चालन गरेर त्यहाँ रहेका नेपाली समुदायलाई सेवा उपलब्ध गराइसकेको छ।