कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाका गीतहरू गुन्जिएका छन् । विगत २१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पलेँटी’ कार्यक्रमको नयाँ शृङ्खलामा थापाका चर्चित रचनाहरू प्रस्तुत गरिएका हुन् ।

कार्यक्रममा गीतकार थापासँगै संलग्न गीतकारहरूको संख्या एक दर्जन पुगेको बताइएको छ । तीन खण्डमा विभाजित कार्यक्रममा पहिलो खण्डमा नयाँ तथा पुराना गरी पाँच वटा सांगीतिक प्रस्तुति समावेश थिए । जसमा सुवर्ण लिम्बु, प्रकाश गुरुङ, आभास र बलराम समालका संगीतबद्ध गीतहरू प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको सुरुवात पवन गोलेको स्वरमा सुवर्ण लिम्बुद्वारा संगीतबद्ध ‘हावासँगै बगुँ भन्छ’ बाट गरिएको थियो । त्यसपछि प्रकाश गुरुङका ‘मेरो रहर बिउँझिएर’ र ‘केही ल्याउन सकिनँ’ जस्ता गीतहरूले माहोललाई भावनात्मक बनाएका थिए ।

गीत प्रस्तुतिसँगै गीतकार शिवशंकर थापाले आफ्ना रचनाको रचना–गर्भ र व्यक्तिगत जीवनका अनुभवहरू साझा गर्दै दर्शकलाई आकर्षित गरेका थिए । प्रकाश गुरुङसँगको युवा उमेरको पुरानो सम्झना सुनाउँदा दर्शक दीर्घामा हाँसोसमेत फैलिएको थियो ।

चौथो प्रस्तुतिमा आभासद्वारा संगीतबद्ध ‘म त अक्षरको मान्छे हुँ’ गीतले विशेष ध्यान तानेको थियो । थापाले यस गीत आफ्नो जीवनका अनुभव र मानवीय कथाहरूलाई अक्षरमा उतार्ने प्रयासको परिणाम भएको बताए ।

पाँचौँ प्रस्तुतिमा भने गीतकार थापा भावुक बनेका थिए । बलराम समालद्वारा संगीतबद्ध ‘कति साह्रो फाटेछु म’ आफ्नी श्रीमतीको निधनपछि उत्पन्न एक्लोपनसँग सम्बन्धित रहेको बताइएपछि वातावरण गम्भीर बनेको थियो ।

दोस्रो खण्डमा गायक तथा संगीतकार दीप श्रेष्ठद्वारा लोकप्रिय बनाइएका गीतहरू प्रस्तुत गरिएका थिए । यस क्रममा थापाले झापा विद्रोहका बन्दी र ‘सुखानी हत्याकाण्ड’ जस्ता ऐतिहासिक घटनाबाट प्रेरित रचनाको प्रसङ्गसमेत सुनाएका थिए, जसले दर्शकलाई स्तब्ध बनाएको थियो ।

‘तिमी आकाशको जून भयौ, म त यहाँको धुलो हुँ’ जस्ता गीतमार्फत थापाले आफ्ना प्रारम्भिक सफलताका स्मृतिहरू पनि साझा गरे । रेडियोबाट आफ्नो गीत पहिलोपटक सुनेको क्षण सम्झिँदा उनले भावुक अनुभव व्यक्त गरेका थिए ।

तेस्रो तथा अन्तिम खण्डमा लोक शैलीका गीतहरू प्रस्तुत गरिएका थिए । भौगोलिक र सांस्कृतिक जीवन झल्काउने ‘माखाको फेदीमा’ र ‘आज फेरि राजैज्यूको’ जस्ता गीतहरूले लोकसंस्कृतिको झल्को दिएका थिए ।

कार्यक्रमको अन्त्यमा ‘रातो माटो सिन्दूरको साटो’ गीत प्रस्तुत गरिएको थियो । समापनमा शिवशंकर थापाले उमेर र स्वास्थ्यका बाबजुद पनि कार्यक्रमले आफूलाई पुनः युवा जोशको अनुभूति दिएको बताएका थिए ।

कार्यक्रममा अभिज्ञा घिमिरे, रूपक चौधरीसहितका कलाकारहरूको स्वर तथा वाद्यवादन समूहको लाइभ प्रस्तुति रहेको थियो । पलेँटीको यो शृङ्खलाले नेपाली गीत–संगीत र रचनात्मक कथनलाई फेरि एकपटक जीवन्त बनाएको देखियो ।