ओलीको आरोप : देश स्वेच्छाचारी शासनको छायामा, प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक अहिले भय, त्रास र आतंकको वातावरणमा चलिरहेको आरोप लगाएका छन्। वर्तमान सरकारको शासनशैली स्वेच्छाचारी बन्दै गएको टिप्पणी गर्दै उनले देशमा असंवैधानिक तथा गैरकानुनी गतिविधि बढिरहेको दाबी गरेका हुन्।
बुधबार काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्। उनले मुलुकमा भय र त्रासको वातावरण सिर्जना भएको तथा विभिन्न गतिविधिका माध्यमबाट नागरिक र राजनीतिक दलमाथि दबाब बढाइएको आरोप लगाए।
ओलीले वर्तमान सरकारले फाँसीवादतर्फ उन्मुख दमनकारी र प्रतिशोधपूर्ण व्यवहार देखाएको दाबी गर्दै त्यसको प्रतिरोधका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले सुरुदेखि नै सरकारले एमालेमाथि निर्मम हमला गर्दै आएको आरोप लगाउँदै यस्ता गतिविधिलाई निरन्तरता दिए त्यसको मूल्य महँगो पर्न सक्ने चेतावनीसमेत दिए। गत वर्ष भएका हिंसात्मक घटनालाई वैधता दिन संवैधानिक प्रक्रियाका रूपमा निर्वाचनको मञ्चन गरिएको उनको टिप्पणी थियो।
एमाले संघर्षको मैदानबाट स्थापित भएको पार्टी भएको उल्लेख गर्दै ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो पार्टी पुनः सरकारमा पुग्ने दाबी गरे। उनले पार्टीको राजनीतिक यात्रालाई कमजोर पार्ने प्रयास सफल नहुने आशयसमेत व्यक्त गरे।
यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहले योजनाबद्ध रूपमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै ओलीले आपत्ति जनाए। प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेखबाट नहटाई भविष्यका लागि प्रमाणका रूपमा राख्न खोजिएको हो भन्दै उनले प्रश्नसमेत उठाए।
दुई दिनसम्म सञ्चालन हुने एमालेको राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधि सहभागी भएका छन्। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिने र आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको एमालेले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्