नवलपरासीमा पिकअप र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ जाँदै गरेको पिकअप र विपरीत दिशाबाट आइरहेको ट्याक्टर आपसमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।