काठमाडौं।। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय र ‘लडाकु’ टोलीबाट सतर्क रहन चेतावनी दिएका छन्।विश्वकप समूह ‘सी’ अन्तर्गत बुधबार मियामीमा हुने महत्त्वपूर्ण खेलअघि उनले आफ्नो टोलीका सदस्यहरूलाई स्कटल्यान्डसँग सजग हुन भनेका हुन् ।
ब्राजिलसँग बराबरीको नतिजाले स्कटल्यान्डलाई निश्चित रूपमा पहिलो पटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समूह चरणबाट अघि बढाउनेछ।यदि पराजित भए पनि अन्य समूहका नतिजाअनुसार उसले अर्को चरणमा स्थान बनाउन सक्ने सम्भावना पनि रहन्छ।तर स्कटल्यान्डको बाटोमा पाँच पटकको विश्वकप विजेता ब्राजिल उभिएको छ, जसको नेतृत्व पाँच पटकको च्याम्पियन्स लिग विजेता प्रशिक्षक एन्सेलोट्टीले गरिरहेका छन्।
एन्सेलोट्टीले भने, ‘पक्कै पनि यो कठिन खेल हुनेछ। स्कटल्यान्ड गुणस्तरीय र सन्तुलित टोली हो। उनीहरू लडाकु छन् र राम्रोसँग संगठित छन्।’उनीहरूसँग अनुभवी खेलाडी रहेका पनि उनले बताए ।‘स्कट् म्स्टोमिन्ये र जोहन एमस्जिन्नी जस्ता खेलाडीले विश्वकपमा असर छाड्न सक्छन् । सजिला खेलहरू समाप्त भइसकेका छन्। हामी कठिन खेल खेल्न तयार छौं’, उनले भने ।
स्कटल्यान्डले यसअघि १९७४, १९८२, १९९० र १९९८ को विश्वकपमा ब्राजिलको सामना गरेको थियो, तर दक्षिण अमेरिकी टोलीलाई हराउन सकेको थिएन।बुधबार फ्लोरिडामा हुने खेलमा उसलाई हजारौं समर्थकहरूको बलियो साथ रहने अपेक्षा गरिएको छ।यस विश्वकपमा पहिलो पटक नेयमार मैदानमा उत्रिन सक्ने सम्भावना छ। पिँडुलाको चोटका कारण उनले हालसम्म विश्वकपमा कुनै खेल खेलेका छैनन्। टोलीमा छनोट भएपछि यस साता उनले पहिलो पटक पूर्ण प्रशिक्षण गरेका छन्।
नेयमारको अवस्थाबारे एन्सेलोट्टीले भने, ‘उनी उपलब्ध छन्। यस साता उनले निकै राम्रो प्रशिक्षण गरेका छन्। उनी फिट छन् र खेल्न तयार छन्। उनको पुनरागमनबाट हामी खुसी छौं, किनकि उनी उच्चस्तरीय खेलाडी हुन्।’उनले थपे, ‘उनी आधा समय वा पूरा ९० मिनेट खेल्न सक्छन्। उनले निकै मेहनत गरेका छन् र पूर्ण रूपमा तयार छन्।’
नेयमारको व्यवहार उत्कृष्ट रहेको बताउँदै राम्रो मनोबलसहित प्रशिक्षण गरेको उनले बताए । ‘उनी राम्रो खेलाडी मात्रै होइन, टोलीका उत्कृष्ट साथी पनि हुन्। उनी निकै गम्भीर र जिम्मेवार छन्। हामी सकेसम्म छिटो उनलाई मैदानमा फर्काउन चाहन्छौं। उनको अनुभव र ज्ञान टोलीका लागि महत्त्वपूर्ण छ’, उनले भने।
यद्यपि राफिन्हा भने यो खेलमा अनुपस्थित रहनेछन्। हाइटीविरुद्ध ३–० को जितमा उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो। उनको स्थानमा कसले खेल्ने भन्ने एन्सेलोट्टीले खुलाउन चाहेनन्। विकल्पका रूपमा रायन, इन्ड्रिक र इगोर थियागो छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्