नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथी पदमा बढुवा भएका अनुपजंग थापाले दर्ज्यानी चिह्न प्राप्त गरेका छन्। मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको रथी पदमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। रथीमा बढुवासँगै थापा नेपाली सेनाको प्रधानसेनापति बन्ने रोलक्रममा समेत परेका छन्। हालका प्रधानसेनापति सिग्देलको अवकाशपछि आगामी भदौ २४ गतेदेखि थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ।

यसैबीच नेपाली सेनामा अर्को रथी पदमा पनि बढुवा प्रक्रिया अघि बढेको छ। उपरथी मधुकर कार्कीलाई मंसिर १५ गतेदेखि लागू हुने गरी रथीमा बढुवा गर्न सिफारिस गरिएको छ।

कार्यक्रममा उपरथीमा बढुवा भएका मनोज थापासहित सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, पंकज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। त्यसैगरी महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठले समेत दर्ज्यानी चिह्न प्राप्त गरेका छन्।