नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन सात विषयगत उपसमितिहरू गठन गरेको छ।

बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार, श्रमिक समस्या लगायतका महत्त्वपूर्ण क्षेत्रहरूलाई समेट्दै उपसमितिहरू गठन गरेको हो। बैठक प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने पार्टी सभापति गगन थापा पनि उपस्थित थिए।

बैठकले विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी नेताहरूलाई उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ। पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकका रूपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेललाई तोकिएको छ। यस उपसमितिले निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारी तथा समग्र वित्तीय क्षेत्रको अध्ययन गर्नेछ।

त्यस्तै चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद र समन्वय उपसमिति’ को संयोजक बनाइएको छ। उनले युवा पुस्ता, जेनजी तथा नागरिक समाजबीच संवाद र समन्वयको नेतृत्व गर्नेछन्।

जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजक रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिक उपसमितिको संयोजक महेन्द्र यादव, बाल अधिकार उपसमितिको संयोजक उमंग लोहनी तथा सार्वजनिक सेवा प्रवाह उपसमितिको संयोजक गोपालप्रसाद पोखरेललाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा नियुक्त भएकी छन्। बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहिता सम्बन्धी प्रस्तावसमेत पेस गरेका थिए।

यसअघि चयन गरिएका ६ जना संयोजकहरूले आ–आफ्नो अवधारणा प्रस्तुत गरेका थिए। बैठकले नयाँ नियुक्त संयोजकहरूलाई आगामी चौथो बैठकमा प्रारम्भिक कार्ययोजना र अवधारणा पेस गर्न निर्देशन दिएको छ।