कास्कीको मोदी खोलामा आइतबार आएको बाढीले स्याउलीबजार नजिक पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुकसँगको सवारी सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सडक अवरुद्ध भएपछि घान्द्रुक घुम्न गएका करिब ३०० पर्यटक अलपत्र परेका छन्।
अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार क्षेत्रमा मोदी खोलाले सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको हो। अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएपछि आएको बाढीका कारण मोदी खोलामा बहाव बढेर सडक बगाएको जनाइएको छ।
घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिने बिदा मनाउन पुगेका अधिकांश पर्यटक आफ्नै सवारीसाधन लिएर गएका कारण बाटो खुल्ने प्रतीक्षामा घान्द्रुकमै रोकिएका छन्। पैदल यात्रुहरूलाई भने खासै समस्या नभएको बताइएको छ।
गाउँपालिकाले मोटरसाइकल तथा स्कुटरका लागि घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी जोड्ने कच्ची सडक मर्मत गर्ने काम अघि बढाएको छ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार स्थानीय प्रशासन र प्राविधिक टोली घटनास्थलमा पुगेर सडक सञ्चालनको सम्भावना अध्ययन गरिरहेका छन्। नदीको बहाव घट्दै गएकोले बगेको स्थानमा कम्तीमा एकतर्फी यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
घान्द्रुक अन्नपूर्ण आधार शिविर (एबीसी) र घोरेपानी–पुनहिल पदयात्राको प्रमुख प्रवेशद्वार भएकाले सडक अवरोधले पर्यटन गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्