काठमाडौं।।कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग ग्लोबल ग्रीन ग्रोथ ईन्स्टिच्युट ९जिजिजिआइ० का नेपाल तथा पाकिस्तानका राष्ट्रिय प्रतिनिधि लौरा जलस्जोकी भेटवार्ता गरेको छ ।

मन्त्रालयमा आज भेटमा उनिहरुबिच हरित विकास, जलवायु वित्त, हरित हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । जिजिजिआइ ५५ देशमा कार्यरत अन्तरराष्ट्रिय तथा अन्तरसरकारी संस्था हो । जिजिजिआइ प्रतिनिधिमण्डलले समावेशी तथा दिगो आर्थिक विकासमार्फत जलवायु उत्थानशील र समृद्ध विश्व निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।

नेपाल सन् २०२२ देखि यसको सदस्य रहेको छ । राष्ट्रिय प्रतिनिधि जलस्जोकीले जिजिजिआइले कृषि, सिँचाइ, कृषि उपज प्रशोधन तथा जलवायु क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र मधेस प्रदेशमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा काम गरेको जानकारी दिएको थियो ।

सो अवसरमा मन्त्री चौधरीले हरित हाइड्रोजन र स्वदेशमै रासायनिक मल उत्पादन नेपालको महत्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै हरित हाइड्रोजनको विकासलाई मल उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने बताए। उनले जलवायु वित्त मन्त्रालयको प्राथमिकताको क्षेत्र रहेको उल्लेख गर्दै हालैको भोटेकोशी बाढीका कारण कृषि भूमि तथा पूर्वाधारमा भएको क्षतिले खाद्य सुरक्षा र कृषकको जीविकोपार्जनमा चुनौती थपिएको बताए।रासस