काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्। बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले १३ वर्षअघि फोनमा भएको भनाभनलाई अहिले महिला हिंसाको आरोपका रूपमा उठाइएको दाबी गरे।
सांसदले उठाएका आरोप
रास्वपा सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत सुनारमाथि महिलासम्बन्धी घरेलु हिंसा र फौजदारी अभियोगमा मिलापत्र गरेको आरोप रहेको उल्लेख गरेका थिए। उनले भनेका थिए, 'तपाईं दलित अभियन्ताको रूपमा करोडौँ रकम असुल गर्नुभयो। नेपाल प्रहरीको डिआइजीबाट एआइजीमा बढुवाका लागि पैसा असुल गर्नुभयो। सांसद पद मिलाइदिन्छु भनेर असुल गर्नुभयो भनेर आर्थिक आरोप लागेको छ।'
सांसद चौलागाईंले सुनार हाम्रो नेपाल पार्टीका केन्द्रीय सदस्य भएकाले राजदूतका लागि योग्य नभएको भन्ने कुरा पनि उठाए। 'आबद्धता तोड्नुभएको छ कि छैन, जर्मनबाट डिपोर्ट गरेर पठाएको भन्ने पनि रहेछ,' उनले भनेका थिए।
'म आफै महिला हिंसाविरुद्ध तालिम दिन्छु'
जवाफमा प्रस्तावित राजदूत सुनारले आफूले महिला हिंसाविरुद्ध जनचेतना फैलाउने तालिम दिँदै आएको र यस विषयमा विभिन्न पत्रपत्रिकामा लेखसमेत लेखेको बताए। उनले पाँच हजारभन्दा बढी महिलालाई महिला हिंसाविरुद्धको तालिम दिएको दाबी गरे। 'महिला हिंसा गरेको भन्ने प्रश्नका लागि धन्यवाद, म आफै महिला हिंसाविरुद्ध जनचेतना तालिम दिन्छु,' उनले भने।
सुनारका अनुसार नारी र नवनारीलगायतका पत्रिकामा महिला अधिकार तथा सशक्तीकरणसम्बन्धी उनका लेख प्रकाशित भएका छन्। साउदी अरेबियालगायतका क्षेत्रमा हुने महिला बेचबिखनका विषयमा समेत आफूले लेखेको उनको भनाइ थियो। महिलाले 'नो' भनेपछि त्यसको अर्थ बुझ्ने गरेको उल्लेख गर्दै उनले महिला सुरक्षासम्बन्धी विभिन्न विषयमा लेख लेखेको बताए।
'१३ वर्षअघिको कुरा अहिले निकाल्नुको नियत के हो?'
सुनारले आफूमाथि आरोप लगाउने महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको बताए। उनका अनुसार सम्बन्धका क्रममा केही लेनदेनको विषयमा विवाद भएको थियो र फोनमा भनाभन भएको थियो। '१३ वर्षअघिको कुरा अहिले निकाल्नुको नियत के हो? फोनमा भनाभन भएको हो,' उनले भने।
ओशो तपोवनसम्बन्धी विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हारेपछि ती महिलाले आफूमाथि प्रतिशोध साँधेको सुनारको आरोप थियो। आफूविरुद्ध कुनै पनि प्रहरी कार्यालयमा जाहेरी दर्ता नभएको, प्रहरीले पक्राउ पुर्जी जारी नगरेको र फौजदारी मुद्दा नलागेको उनले बताए। फोनमा भएको भनाभनलाई महिला हिंसाको संज्ञा दिइन्छ भने त्यसमा आफ्नो आपत्ति नरहेको पनि उनले बताए।
काममा अवरोध भएको दाबी
आरोपका कारण आफूले काम गर्दै आएका विभिन्न संस्थामा समेत समस्या भएको सुनारले बताए। कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिएपछि ती महिलाले सामाजिक सञ्जालमा आफूलाई गाली गरेको र महिला आयोग, केयर नेपाल तथा कुमारी बैंकसँग सम्बन्धित तालिमका काममा अवरोध पुर्याएको उनको दाबी थियो। काठमाडौं पोस्ट र माइ रिपब्लिकामा आफ्ना लेख प्रकाशित हुन रोकिएको पनि उनले बताए। '१३ वर्षसम्म म बोलिनँ,' सुनारले भने।
दलित र गैरदलितबीचको अन्तरजातीय विवाहसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेको उल्लेख गर्दै उनले महिला हिंसाविरुद्ध काम गर्दै आएको व्यक्तिमाथि गलत आरोप लगाइएको बताए।
'प्रमाण भए सजाय भोग्न तयार छु'
सुनारले आफूमाथि चरित्रहत्या गरिएको भन्दै दुःख व्यक्त गरे। मासिक ५० देखि ६० हजार रुपैयाँको जागिरबाट घरखर्च चलाउँदै आएको बताउँदै उनले यस घटनाबाट परिवारले समेत पीडा भोग्नुपरेको उल्लेख गरे। 'म पनि बाँच्नुपर्ला। मेरो चरित्रहत्या गरिएको छ। मेरा वृद्ध बुवाआमा, श्रीमती र बहिनीले कसरी सहनुभएको होला?' उनले प्रश्न गरे।
आफूले गलत काम गरेको वा पैसा लेनदेनमा अनियमितता गरेको प्रमाण भए पेस गर्न चुनौती दिँदै सुनारले प्रमाणका आधारमा सजाय भोग्न तयार रहेको बताए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्