कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई हटाइएकाले अहिलेको विवाद सिर्जना भएको लेखकको दाबी छ। उनले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने धारणा राखे।

लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पारे। बरु १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको उनले बताए। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको लेखकको भनाइ छ। निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूको रहेको उनले बताए।

‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने। पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले अहिले पनि पार्टी मिलाउने सम्भावना रहेको बताए। ‘अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने। लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि राखे। आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उनको भनाइ थियो। पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत लेखकले दिए। कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा महाधिवेशन प्रक्रिया रोक्न आफूले आग्रह गरिरहेको उनले बताए।