काठमाडौं।। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरी तथा प्रशासनद्वारा साउन २५ गते बिहान ६ बजेसम्मको अध्यावधिक विवरण अनुसार कोशी र बागमती प्रदेशका थुप्रै प्रमुख सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्।
कोशी प्रदेशअन्तर्गत मध्यपहाडी लोक मार्गको भोजपुर नगरपालिका–०५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि अर्को वैकल्पिक बाटोसहित यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। त्यसैगरी मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–०९ राजदुवाली खण्डमा पहिरो जाँदा झापादेखि ताप्लेजुङ जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक बाटोमार्फत सवारी साधन डाइभर्ट गरिएको छ।
बागमती प्रदेशका मुख्य राजमार्गमा पनि वर्षा र पहिरोको ठूलो असर देखिएको छ। बि।पि। राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–०९ पिन्थली (नाकैं) मा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द छ। सोही राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थिति विचार गरेर मात्रै सवारी चलाउन दिइएको छ।
यस्तै मकवानपुरस्थित कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी–पहिरोका कारण अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चारकिलो, कोदारी, लिपिङ तथा चौतारा साँगागढी नगरपालिकाको डुग्रेमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–०५ खाल्टेमा पनि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्