गण्डकी, ३० भदौः तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको रौनक चलेको छ। बर्खे नाचका रूपमा चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ। जनैपूर्णिमाको भोलिपल्टदेखि भदौरे जात्राको रौनक सुरु हुने गरे पनि नेवार समुदायको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नै नचाउने चलन रहेको छ।
ठूला चाडबाडअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले पर्वमय माहोलको संकेत दिने गर्छन्। यसैअनुरूप पर्वतको कुश्मास्थित 'शताब्दी घर'को आँगन सोमबार साँझ लाखे नाचले गुन्जियो। पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गर्दै वर्षदिनका लागि लाखे नाचलाई बिदाइ गरेको स्थानीयवासी जयन्द्रकुमार जोशीले जानकारी दिनुभयो।
कुश्मामा साउन कृष्ण औँशी अर्थात् भुते औँशीदेखि तीजसम्म लाखे नाच देखाइने परम्परा रहेको जोशीको भनाइ छ। यसै अवधिमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच पनि प्रदर्शन गरिने गरिएको उहाँले बताउनुभयो। कुश्मामा लाखे नाचको थालनी करिब अढाई वर्षअघि भएको मानिन्छ। नेवारी संस्कृतिको संरक्षणका लागि यो परम्परा निरन्तर चलाइएको जोशीले बताउनुभयो।
लाखे नाचमा नेवार समुदायका साथै अन्य जातजातिको पनि सहभागिता रहने गरेको छ। लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिले गरे पनि तयारीदेखि व्यवस्थापनसम्म कुश्मावासी सबैको सहकार्य रहँदै आएको छ। संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच र बकुल्ला नाच पनि पर्छन्। संरक्षणको अभावमा भने बकुल्ला नाच र हनुमान नाच लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो।
लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठका अनुसार विगतकै शैलीमा यस वर्ष पनि विविध परम्परागत वेषभूषा र चरित्रमा लाखे नचाउँदै नगर परिक्रमा गरिएको थियो। किंवदन्तीअनुसार भूतप्रेतले मानिसलाई नसताओस् भन्ने उद्देश्यले लाखे नाचको प्रचलन सुरु भएको उहाँले बताउनुभयो। उहाँले परम्परागत नाच र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
संरक्षणकर्मी आरके अदीप्त गिरीका अनुसार लाखे नाच अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको छ। करिब २५० वर्षअघि भक्तपुरबाट आएको यो परम्परा जोगाउन नेवार समुदायको सक्रियता मात्र पर्याप्त नभएको र राज्यले नीतिगत प्रबन्धसहित दीर्घकालीन सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वर्द्धनका लागि 'शताब्दी घर'को परिकल्पना गरिएको गिरीले जनाउनुभयो। लाखेजस्तै विभिन्न समुदायमा प्रचलित नाचगानलाई जोड्दै 'शताब्दी घर'मा मासिक शृङ्खला सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ।
लाखे नाच के हो?
लाखे नाच घण्टाकर्ण (गठेमङ्गल) पर्वबाट सुरु भई तीजमा टुङ्गिने चलन छ। किंवदन्तीअनुसार राजाका सिपाहीले घण्टाकर्ण नामक राक्षसलाई मारेपछि पति बियोगमा व्याकुल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेकी थिइन्, त्यसैको प्रतीकस्वरूप नेवार समुदायले बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएको छ। नेवार जाति बसोबास गर्ने स्थानअनुसार लाखे नाच फरक-फरक तरिकाले नचाइन्छ, र यसको प्रचलन तथा इतिहासबारे विभिन्न मान्यता पाइन्छन्।
लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन्। राक्षसको स्वरूप झल्काउने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाइन्छ। संस्कृतिकर्मी प्रेम छोटाका अनुसार सयौँ वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवार जातिले पर्वत, बागलुङलगायत ठाउँमा लाखेसहित विभिन्न जात्राका थिती बसालेका थिए। यस्ता पर्व तथा जात्रालाई भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा लिइन्छ, र हरेक नाचका आ-आफ्नै परम्परा र ऐतिहासिक मान्यता रहेका छन्।
गीत, नृत्य र अभिनयमार्फत जात्राले व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्दै आएको छ, यद्यपि नाचको कथा, पृष्ठभूमि, स्वरूप र शैली भने बेग्लाबेग्लै रहेका छन्। पछिल्लो समय जात्राको रौनक खुम्चिँदै गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ। संरक्षणको अभावमा कतिपय नाच हराइसकेको र नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह घट्दै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको नेवार अगुवाहरूको भनाइ छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्