काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट पछिल्ला तीन दिनमा ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिण्डर काठमाडौँ भित्र्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा ग्यास कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास ‘रिफिलिङ’ गरी वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याएका हुन्। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा ग्यास सिलिण्डर उपत्यका भित्रिएका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति नियमित राख्न वैकल्पिक मार्ग प्रयोग गरिरहेको जनाएको छ। भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। त्यसपछि निगमले तराईका विभिन्न उद्योगमा रिफिल गरिएका ग्यास सिलिण्डर वैकल्पिक मार्गमार्फत काठमाडौँ ल्याउने व्यवस्था गरेको हो। ग्यास आपूर्तिमा समस्या हुन नदिन निगमले सार्वजनिक बिदाका दिनमा समेत रिफिलिङ तथा ढुवानीलाई नियमित गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। यससँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक सडकमार्गबाट ढुवानीलाई प्राथमिकता दिइएको छ।