नयाँ दिल्ली।। चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट विवादमा तानिएका भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रश्नपत्र काण्डपछि रुष्ट बनेका युवाहरूले उनको राजीनामा मागे पनि प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुमा त्यसलाई बेवास्ता गरेका थिए । तर, सामाजिक सञ्जालमा सीमित आक्रोशले सडकमा आक्रामक रूप लिएपछि अन्ततः सरकार घुँडा टेक्न बाध्य भएको हो ।
यस अभूतपूर्व आन्दोलनको नेतृत्व ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको थियो। अमेरिकाको एक विश्वविद्यालयबाट भर्खरै स्नातक गरेका ३० वर्षीय अभिजीत दीपकेले गत मे महिनामा यो अभियान सुरु गरेका हुन् ।
भारतको सर्वोच्च अदालतमा भएको एक सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले देशका बेरोजगार युवालाई ‘परजीवी’ र ‘साङ्लो’ (कक्रोच) सँग तुलना गरेका थिए । उक्त अभिव्यक्तिबाट आक्रोशित बनेका दीपकेले सामाजिक सञ्जालमा लेखेका थिए— “यो देशका लाखौँ साङ्लाहरू एक भए भने के होला रु”
उनको यो पोस्ट इन्स्टाग्राममा भाइरल भयो । त्यसलगत्तै उनले सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) लाई व्यङ्ग्य गर्दै ‘कक्रोच जनता पार्टी’ ९सीजेपी० स्थापनाको घोषणा गरे र सदस्यताका लागि अनलाइन लिङ्क सार्वजनिक गरे ।
छोटो समयमै सीजेपीप्रति युवाको आकर्षण ह्वात्तै बढ्यो। स्थापनाको दुई हप्तामै यसको इन्स्टाग्राम पेजमा २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगे, जुन सत्तारूढ बीजेपीको भन्दा बढी हो । अनलाइन प्रभाव रोक्न मोदी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सीजेपीका सामाजिक सञ्जाल खाताहरूमाथि प्रतिबन्ध लगाउने प्रयास गरे पनि त्यो असफल भयो ।
नीट प्रश्नपत्र चुहावटका कारण सरकारले परीक्षा स्थगित गर्दा २० लाख परीक्षार्थी समस्यामा परेका थिए । सोही तनावका कारण परीक्षाको तयारी गरिरहेका १२ जना विद्यार्थीले आत्महत्या गरेपछि सीजेपीले पीडित परिवारलाई क्षतिपूर्ति र शिक्षामन्त्रीको राजीनामालाई मुख्य मुद्दा बनायो ।
जुन महिनाको सुरुमा सीजेपीलाई राजनीतिक दलका रूपमा दर्ता गराएर दीपकेकै नेतृत्वमा नयाँ दिल्लीमा भौतिक प्रदर्शन सुरु गरियो । भर्चुअल दुनियाँबाट सडकमा ओर्लिएको सीजेपीको यो पहिलो प्रदर्शन थियो, जहाँ जेन्जी र मिलेनियल पुस्ताका युवाहरूको बाक्लो उपस्थिति रह्यो । युवाहरूले शैक्षिक सुधारका साथै नातावाद र शक्तिको दुरुपयोगविरुद्ध नाराबाजी गरे । हालैको एक अध्ययनअनुसार भारतमा २५ वर्षमुनिका करिब ४० प्रतिशत स्नातक उत्तीर्ण युवा बेरोजगार छन् ।
आन्दोलनलाई थप सशक्त बनाउन जुनको अन्त्यतिर सीजेपीले दिल्लीको जन्तर(मन्तरमा धर्ना सुरु गर्यो । शिक्षामन्त्रीको राजीनामा नआएसम्म नहट्ने अठोट गरेका युवाहरूलाई लद्दाखका प्रसिद्ध इन्जिनियर तथा पर्यावरण अभियन्ता सोनम वाङचुकले पनि समर्थन गरे । वाङचुक स्वयं आन्दोलनको समर्थनमा भोक हड्तालमा बसे ।गत जुलाई २० मा आयोजित ‘संसद् चलो’ प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ठूलो संख्यामा युवा घाइते भए । त्यसपछि सीजेपीले लगातार ६ दिनसम्म प्रदर्शन जारी राख्यो ।
आन्दोलनसँगै २६ दिन लामो भोक हड्तालमा बसेका वाङचुकले बिहीबार मध्यराति सरकारले आफ्ना दुई प्रमुख माग पूरा गर्ने लिखित आश्वासन दिएपछि अनशन तोडेका छन् । केन्द्रीय मन्त्री जेपी नड्डाले प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारीमाथि कुनै कारबाही नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । सीजेपीको आह्वानमा भारतका विभिन्न सहरमा प्रदर्शन तीव्र बनेको थियो भने कंग्रेस आईसहितका मुख्य विपक्षी दलहरूले पनि यस आन्दोलनलाई खुला समर्थन गरेका थिए ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्