काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशका प्रमुख नदीहरू— कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हाल सामान्य अवस्थामै रहेको जनाएको छ।
यद्यपि आज काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रबाट बग्ने केही साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली लगायतका जिल्लाका साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले असार ३० र ३१ गते पनि सातै प्रदेशका केही साना नदीहरूमा आकस्मिक रूपमा जलसतह बढ्न सक्ने जनाएको छ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने, नदी किनार हुँदै यात्रा गर्ने तथा बाढीको जोखिमयुक्त क्षेत्रमा रहने सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्