नेपाल र इटालीबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ मंगलबार साँझ काठमाडौंमा इटालीको ८०औँ गणतन्त्र दिवस विशेष समारोहका बीच मनाइएको छ।

नेपालस्थित इटालीको अवैतनिक वाणिज्य दूतावास र नेपाल–इटाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ठमेलस्थित होटल ‘एलोफ्ट’मा आयोजित कार्यक्रममा कूटनीतिज्ञ, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल–इटाली सम्बन्ध विस्तारमा जोड

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयका सह–सचिव गणेश प्रसाद ढकालले नेपाल र इटालीबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए। उनले आगामी दिनमा जलविद्युत, पर्यटन, पूर्वाधार तथा आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल सरकार सकारात्मक रहेको बताए।

ढकालले दुई देशबीचको कूटनीतिक सम्बन्धले आर्थिक र सांस्कृतिक सहकार्यलाई समेत थप बल पुर्‍याउने विश्वास व्यक्त गरे।

इटालीको तर्फबाट लगानी र पर्यटनमा चासो

नेपालका लागि इटालीका गैरआवासीय राजदूत एन्टोनियो बार्टोलीले नेपालको प्राकृतिक सौन्दर्य, कला र सांस्कृतिक विविधताको प्रशंसा गर्दै नेपालमा लगानीका व्यापक सम्भावना रहेको बताए।

उनले इटाली नेपालसँगको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन इच्छुक रहेको उल्लेख गर्दै विशेषगरी पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा जोड दिने बताएका थिए।

बार्टोलीले नेपाल र इटालीबीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नभई जनस्तरमा समेत विस्तार हुँदै गएको धारणा राखे।

सांस्कृतिक प्रस्तुति र विशेष आतिथ्य

इटालीकी अवैतनिक वाणिज्य दूत प्रतिमा राणा पाण्डेको संयोजनमा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि विशेष आकर्षणको केन्द्र बनेको थियो। कलाकारहरूले प्रस्तुत गरेका सांगीतिक तथा सांस्कृतिक कार्यक्रमले समारोहलाई थप उल्लासपूर्ण बनाएको थियो।

समारोहमा सहभागीहरूले इटालीका चर्चित परिकारहरूको स्वाद लिँदै दुई देशबीचको मित्रता, साझा हित र सहकार्यका सम्भावनाबारे अनौपचारिक छलफल गरेका थिए।

कार्यक्रमले नेपाल र इटालीबीचको मित्रता, आर्थिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।