काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) फैलिने क्रम जारी रहँदा किसानसँगै सर्वसाधारणमा पनि चिन्ता बढेको छ। पशु सेवा विभागका अनुसार हाल देखिएको संक्रमण फैलिनुमा संक्रमित कागको भूमिका प्रमुख रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
केही महिनाअघि काठमाडौंमा ठूलो संख्यामा काग मरेपछि गरिएको परीक्षणमा बर्ड फ्लु पुष्टि भएको थियो। विभागका अनुसार ती संक्रमित कागमार्फत कुखुरा तथा अन्य पन्छीमा भाइरस फैलिएको हुनसक्ने देखिएको छ।
नेपालमा हाल मुख्य रूपमा H5N1 र H9N2 प्रकारका बर्ड फ्लु भाइरस देखिएका छन्। H5N1 लाई उच्च घातक मानिन्छ भने H9N2 अपेक्षाकृत कम घातक भए पनि कुखुरामा ठूलो क्षति पुर्याइरहेको छ।
मानिसमा बर्ड फ्लु संक्रमण भए उच्च ज्वरो, खोकी, घाँटी दुख्ने, नाकबाट सिँगान बग्ने, शरीर दुख्ने, थकान, श्वासप्रश्वासमा समस्या तथा गम्भीर अवस्थामा निमोनियासमेत हुन सक्छ। H9N2 संक्रमणमा भने प्रायः हल्का फ्लुजस्ता लक्षण देखिने गरेका छन्।
बर्ड फ्लु पुष्टि भएका बिरामीको उपचारमा ओसेलटेमिभिर (Oseltamivir) नामक एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि मानिसका लागि प्रभावकारी खोप भने हालसम्म व्यापक रूपमा उपलब्ध छैन।
विशेषज्ञहरूले मृत वा बिरामी काग तथा अन्य पन्छीलाई नछुने, पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउने, कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने तथा असामान्य रूपमा पन्छी मरेको देखिए सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन्।
खुला वातावरणमा विचरण गर्ने कागलाई नियन्त्रण गर्न कठिन हुने भएकाले संक्रमण थप फैलिन नदिन जनचेतना, निगरानी र शीघ्र नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्