काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी (HPV) डीएनए संक्रमण पुष्टि भएको छ।

महानगरपालिकाका अनुसार २०८२ चैत १६ देखि २०८३ वैशाख २१ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रकारका एचपीभी संक्रमण देखिएको हो।

चिकित्सकहरूले एचपीभी संक्रमण देखिनु भनेको क्यान्सर भएको भन्ने होइन, भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहेको संकेत मात्र भएको स्पष्ट पारेका छन्।

कार्यक्रममा ३ हजार ४९४ महिलाले नाम दर्ता गराए पनि २ हजार ९७५ जना मात्रै परीक्षणका लागि अस्पताल पुगेका थिए। उनीहरूमध्ये २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। यस क्रममा ४११ जनाको म्यामोग्राम तथा ४९४ जनाको स्तनको भिडियो परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ।

परीक्षणका क्रममा ११ जनामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था देखिएको छ। तीमध्ये चार जनामा उच्च जोखिम र सात जनामा न्यून जोखिमको अवस्था रहेको उल्लेख गरिएको छ।

त्यस्तै, स्तन परीक्षणपछि चार जनाको बायोप्सी गर्नुपर्ने देखिएकामा दुई जनामा स्तन क्यान्सर पुष्टि भएको छ र उनीहरूको उपचार जारी रहेको महानगरपालिकाले जनाएको छ।

वडागत विवरणअनुसार वडा नम्बर २२ मा सबैभन्दा बढी ११ जनामा एचपीभी संक्रमण पुष्टि भएको छ। वडा नम्बर १६ मा नौ जना, वडा नम्बर १४ र १५ मा समान सात–सात जना तथा वडा नम्बर ७ मा छ जनामा संक्रमण देखिएको छ। भने वडा नम्बर २, १२, १७, १८, २० र २१ मा परीक्षण गराएका महिलामा एचपीभी संक्रमण पुष्टि भएको छैन।

चिकित्सकहरूले ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन तथा स्तनमा गाँठो, आकार परिवर्तन वा अन्य असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्।