काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा, भनिन्– आफ्नो अनुभव र विज्ञता महानगरको रूपान्तरणमा लगाउँछु
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै श्रेष्ठले काठमाडौंको समृद्धि, सुशासन र समग्र रूपान्तरणका लागि आफू चुनावी मैदानमा उत्रिन लागेको बताएकी हुन्।
उनले आफूले जीवन र कर्मका क्रममा हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौं महानगरको विकास र परिवर्तनका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
श्रेष्ठको यो घोषणासँगै आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उनको उम्मेदवारी चर्चामा आएको छ। महानगरको नेतृत्वमा पुगेर काठमाडौंको विकास, व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्ने लक्ष्यसहित उनले आफ्नो राजनीतिक योजना सार्वजनिक गरेकी हुन्।
यसअघि श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध थिइन्। उनले २०८२ भदौ २९ गते पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसयता कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकी श्रेष्ठले अहिले स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्