काठमाडौँ महानगरपालिकाले यस वर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पहिचान गरेको छ। महानगरले जनधनको क्षति कम गर्न विशेष पूर्वतयारी तथा उद्धार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार १ देखि ३२ वटै वडाका प्रतिनिधि, स्थानीय नागरिकसँगको छलफल र विगतका घटनाको अध्ययनका आधारमा जोखिमयुक्त स्थान पहिचान गरिएको हो।

उनका अनुसार नदी तथा खोला आसपासका बस्ती स्थानान्तरण भएपछि यस वर्ष नदीजन्य विपद्का घटनामा केही कमी आउने अपेक्षा गरिएको छ।

विपद् पूर्वतयारीबारे जानकारी दिँदै जोशीले डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको बताए। साथै, कृत्रिम अभ्यासमार्फत उद्धार प्रक्रिया अभ्यास गरिएको छ र आवश्यक मेसिनरी उपकरण तथा राहत सामग्री पनि तयारी अवस्थामा राखिएको छ।

उद्धारपछि आवश्यक पर्ने त्रिपाल, खाद्य सामग्री र अन्य राहत सामग्री पनि भण्डारण गरिएको महानगरले जनाएको छ।

मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संस्थासँग समन्वय गर्दै क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।

पछिल्लो समय काठमाडौँमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया र पूर्वयोजना बिना गरिने सडक खन्ने तथा पुर्ने कार्यले पानी निकासमा समस्या देखिँदा नदीजन्य विपद्का घटना बढ्दै गएको देखिएको छ।

महानगरले विपद् व्यवस्थापनका लागि समुदायस्तरीय क्षमता विकास, सरोकारवाला निकायबीच समन्वय र पूर्वतयारीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।