काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ भइरहेको छ। उनका अनुसार दुई क्लस्टरको मतगणना बिहान नै सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। अन्य छ क्लस्टरको गणनाको तयारी भइरहेको छ।

गणना सकिएका पद
निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको गणना पनि पूरा भएको छ।

गणना जारी रहेका पद
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशतर्फका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्यको मतगणना पनि जारी छ।