काठमाडौं,। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरान युद्धको रणनीतिमा स्पष्ट मतभेद देखिएको छ ।
सीएनएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, नेतन्याहूले इरानमाथि सैन्य कारबाही जारी राख्नुपर्ने अडान लिएका छन् । उता ट्रम्पले हाललाई कूटनीति र सम्झौताको मौका दिन चाहेका छन् ।
मंगलबार भएको करिब एक घण्टा लामो टेलिफोन वार्तामा नेतन्याहूले ट्रम्पलाई इरानमाथि प्रस्तावित हमला रोक्नु गल्ती भएको बताएका थिए ।
उनले सैन्य दबाब कायम राख्न जोड दिए । यसअघि ट्रम्पले नेतन्याहूलाई ‘अपरेशन स्लेजह्यामर’ नामको लक्षित हमलाको तयारी भएको जानकारी गराएका थिए । तर २४ घण्टाभित्रै ट्रम्पले मंगलबारका लागि तय हमला स्थगित गरेको घोषणा गरे ।
ट्रम्पले कतार, साउदी अरब र यूएई जस्ता खाडी देशहरूको अनुरोधमा यो निर्णय लिएको बताएका छन् । उनले भनेका छन्, ‘गम्भीर वार्ता चलिरहेको छ र ठूलो सम्झौता हुन सक्छ ।’
ट्रम्पको दाबी र अडान
बुधबार अमेरिकी कोस्टगार्ड एकेडेमीमा दिएको भाषणमा ट्रम्पले दाबी गरे, ‘इरानको नौसेना, वायुसेना र धेरैजसो पूर्वाधार समाप्त भइसकेको छ । अब प्रश्न यो हो– हामीले पूरै समाप्त पार्ने कि इरानले सम्झौतामा हस्ताक्षर गर्ने ?’
ट्रम्पले इजराइलमा आफ्नो लोकप्रियता ९९ प्रतिशत रहेको र आवश्यक परे इजरायली प्रधानमन्त्रीको चुनाव पनि लड्न सक्ने मजाक गरे । उनले भने, ‘नेतन्याहूले म जे भन्छु त्यही गर्नेछन् । उनी राम्रो नेता हुन् ।’
यूएईको तयारी
यसैबीच, यूएईको सरकारी तेल कम्पनी एड्नोकले हर्मुज स्ट्रेट बाइपास गर्ने नयाँ तेल पाइपलाइनको ५० प्रतिशत काम पूरा भएको जनाएको छ । यसले खाडी देशहरूको तेल निर्यातलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
पाकिस्तानको भूमिका
पाकिस्तान सेना प्रमुख जनरल असीम मुनीर फेरि इरानी राजधानी तेहरान भ्रमणमा गएका छन् । यसअघि पाक गृहमन्त्री मोहसिन नकवी पनि तेहरान पुगेका थिए ।इरानले अमेरिकासँग १४ बुँदे प्रस्ताव पेश गरेको र पाकिस्तानले मध्यस्थता गरिरहेको बताइएको छ ।
अमेरिकामा विरोध
अमेरिकामा इरान युद्धविरुद्ध प्रदर्शन बढ्दो छ । वाशिङ्गटन डीसीमा पूर्व सैनिकहरूले ट्रम्पको नीतिविरुद्ध प्रदर्शन गरेका छन् । डेमोक्रेट सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि सहभागी थिए ।
ट्रम्पले हाललाई कूटनीतिलाई प्राथमिकता दिए पनि इरानले आफ्नो माग (परमाणु कार्यक्रम, मिसाइल र प्रोक्सी समूहहरू) नछोडेमा ठूलो हमलाको चेतावनी दिएका छन् ।
हर्मुज स्ट्रेट अझै इरानको नियन्त्रणमा छ, जसले तेल मूल्य बढाएको छ । स्थिति अझै तनावपूर्ण छ । वार्ता सफल हुन्छ कि युद्ध अझै चर्किन्छ, विश्वले पर्खिएर बसेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्