हत्यापछि बोरामा हालेर फालिएकी युवतीको दुई महिनापछि पहिचान उनकै श्रीमान् ले गरेको भेटियो प्रमाण

हेटौँडा–१५ स्थित सामुदायिक वनमा गत साउन २२ गते बोरामा मृत फेला परेकी महिलाको दुई महिनापछि पहिचान खुलेको छ। डीएनए परीक्षणबाट मृतक भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुन रहेको पुष्टि भएको हो।

प्रहरीका अनुसार रुचीको हत्या गरी शव बोरामा राखेर जंगलमा फालिएको थियो। घटनामा भारतकै २७ वर्षीय राहुलकुमार गुप्ता भन्ने ईश्वर कुमारको संलग्नता खुलेको छ। रुची केही समयदेखि चितवनको भरतपुरमा राहुलसँगै बस्दै आएकी थिइन्।

रुची हराएपछि उनकी आमाले भारतमा खोजतलासका लागि निवेदन दिएकी थिइन्। नेपालमा भेटिएको शवसँग विवरण मिलेपछि गरिएको डीएनए परीक्षणमा मृतक रुची खातुन नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। शव उनकी आमाले बुझेर लगेकी छन्। आरोपी राहुल हाल भारतको बेतिया कारागारमा रहेको प्रहरीले जनाएको छ।