हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड नेटवर्क युनियनपेसँग सहकार्य गर्दै यो सेवा सुरु गरेको हो ।
चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई लक्षित गर्दै सुरु गरिएको यो सेवाले त्यहाँको वित्तीय कारोबारलाई सहज, सुरक्षित र सुलभ बनाउने उद्देश्य लिएको बैंकले जनाएको छ ।
यो कार्ड प्रयोग गरेर ग्राहकहरूले चीनमा रहेका एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत चिनियाँ मुद्रामै प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यसले मुद्रा साटफेरको झन्झट कम गर्दै लागत पनि घटाउनेछ ।
व्यक्तिगत तथा संस्थागत भ्रमणमा जाने विद्यार्थी, व्यवसायी र पर्यटकले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले तोकेको सीमाभित्र रकम कार्डमा लोड गर्न सक्नेछन् ।
लोड गरिएको रकम युनियनपेसँग आबद्ध अलिपे, विच्याट पे, निहाओ चाइना जस्ता लोकप्रिय डिजिटल प्लेटफर्ममार्फत पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजित विशेष कार्यक्रममा यो सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र युनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा सेवा सुरु गरेका थिए ।
बैंकले यो नयाँ सेवाले चीनसँग व्यापारिक, शैक्षिक तथा पर्यटकीय सम्बन्ध रहेका नेपालीहरूलाई वित्तीय कारोबारमा ठूलो सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्