काठमाडौं । बूढीगण्डकी नदीमा बाढी आएको गोरखा क्षेत्रमा पछिल्लो २४ घण्टामा ठूलो वर्षा नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गोरखामा बाढी आउने गरी पानी परेको छैन, त्यहाँ हल्का वर्षा मात्र मापन भएको छ ।

विभागको पछिल्लो २४ घण्टाको वर्षा विवरणअनुसार देशभर कतै पनि ठूलो वर्षा भएको छैन । यस अवधिमा सिरहामा २७.८ मिलिमिटर र बागलुङमा १७.४ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ ।

तर, गोरखाको चुमनुब्री गाउँपालिकास्थित चुम्चेत क्षेत्रबाट आइतबार बिहान बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ ।

आरुघाटमा तीन चरणमा पुग्यो बाढी

बाढी पूर्वानुमान शाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बाढी आरुघाटमा तीन चरणमा पुगेको थियो । दोस्रो चरणमा बिहान ७ बजेर ५० मिनेटमा आएको बाढीले आरुघाटमा नदीको सतह खतराको तहसम्म पुर्‍याएको थियो ।

कारण खोज्न अध्ययन

प्रभावित क्षेत्रमा वर्षा नभएकाले बाढीको यकिन कारण पत्ता लगाउन अध्ययन भइरहेको पराजुलीले बताए । मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट सुरु भएको यो बाढीबारे अध्ययनपछि साँझसम्म विस्तृत विवरण खुल्ने उनको भनाइ छ ।

तल्लो क्षेत्रमा ठूलो असर छैन, तर सतर्कता कायमै

बाढीले चुमनुब्रीलगायत माथिल्लो क्षेत्रमा भौतिक क्षति पुर्‍याए पनि आरुघाट र त्योभन्दा तल्लो क्षेत्रमा अहिलेसम्म ठूलो असर नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यद्यपि नदीको बहाव घटबढ भइरहेकाले आइतबार साँझसम्म त्रिशूली दोभानसम्म उच्च सतर्कता अपनाउन र बूढीगण्डकी करिडोरको आवागमन बन्द गर्न आग्रह गरिएको छ ।