गगन थापाको माग : बिचौलिया प्रकरणको निष्पक्ष छानबिन होस्, दोषी जोसुकै भए पनि कारबाही गरियोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले अनुसन्धान प्रक्रियामा कांग्रेसको पूर्ण साथ र समर्थन रहने स्पष्ट पारे। तर अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नतासम्बन्धी विवरण सार्वजनिक हुन थालेको उल्लेख गर्दै उनले सबै पक्षलाई प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
थापाले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरिएको विषयसमेत उठाएका छन्। गृहमन्त्रीको सम्पत्ति, भदौ २३ र २४ गतेका घटना तथा सुनसरीको कप्तानगञ्जलगायतका विषयमा गठित समितिका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ।
उनले आवश्यकताअनुसार प्रतिवेदन प्रयोग गर्ने र नचाहिएका प्रतिवेदन थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए।
त्यस्तै, अनुसन्धान प्रक्रियाको निगरानी गर्न सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गर्दै कांग्रेसले संसद् र संसदीय समितिमार्फत पनि यस विषयलाई प्रभावकारी रूपमा उठाउने बताए।
न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि उठिरहेका प्रश्नप्रति पनि थापाले चिन्ता व्यक्त गरेका छन्। अदालतमा विचाराधीन मुद्दाबारे कार्यपालिकाको चाहना व्यक्त भएको भन्ने विवरण तथा न्यायालयसँग जोडिएका आर्थिक लेनदेनका विषय सार्वजनिक हुनुले न्यायपालिकाको स्वतन्त्रतामाथि आशंका पैदा गरेको उनको भनाइ छ।
न्यायपालिकाभित्रका विकृति र गलत कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै उनले न्यायालयको व्यापक सुधारका लागि सबै राजनीतिक दलसँग संवाद गर्न कांग्रेस तयार रहेको बताए।
थापाले सार्वजनिक भएका विषयलाई राजनीतिक स्वार्थ र पूर्वाग्रहका आधारमा प्रयोग नगर्न आग्रह गर्दै न्यायालयप्रति जनताको आस्था कायम राख्न र न्यायमूर्तिहरूले निर्भीक भएर काम गर्न सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्