काठमाडौंको रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवासअगाडि सोमबार बिहान गाडी तेर्स्याएर राखिएपछि आवतजावत प्रभावित भएको छ।

स्थानीयका अनुसार बिहान करिब ७ बजेदेखि मोटरसाइकलसमेत निस्कन नसक्ने गरी गाडी तेर्स्याएर राखिएको थियो। यसका कारण गगन थापासहित आसपासका स्थानीयवासीलाई पनि सवारीसाधन बाहिर निकाल्न कठिनाइ भएको बताइएको छ।

एक प्रत्यक्षदर्शीका अनुसार गाडी तेर्स्याएका चालक त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर घटनास्थलबाट हिँडेका थिए। चालक प्रहरीको भ्यानमा गएको दाबी गरिए पनि प्रहरीले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसअघि सोमबार नै काठमाडौंका तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर कार्यालयबाहिर पनि शंकास्पद रूपमा गाडी तेर्स्याएर सडक अवरुद्ध बनाइएको थियो। ती स्थानमा राखिएका गाडीहरू प्रहरीले क्रेन प्रयोग गरेर हटाइसकेको छ।