एमालेको आन्तरिक विवादले कोसी सरकार संकटमा, मुख्यमन्त्री कार्कीलाई राजीनामाको दबाब

सत्तारूढ नेकपा एमालेभित्रको आन्तरिक विवाद चर्किएसँगै कोसी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय थप पेचिलो बनेको छ। पार्टीभित्रै एउटा समूहले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउन दबाब बढाएपछि प्रदेशको राजनीति तरंगित बनेको हो।

एमाले कोसी प्रदेशका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईको सक्रियतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई हटाएर प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको चर्चा छ।

एक साताअघि काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलाका क्रममा प्रदेश अध्यक्ष, इन्चार्जसहितका नेता तथा केही सांसदले अध्यक्ष ओलीलाई भेटेर कार्कीलाई तत्काल पदबाट हटाउन आग्रह गरेका थिए। उनीहरूले पहिचानको मुद्दा सम्बोधन गर्न जनजाति समुदायबाटै मुख्यमन्त्री बनाउनुपर्ने तर्क अघि सारेका थिए।

एमालेभित्रको एक पक्षले जनजाति समुदायको असन्तुष्टि सम्बोधन नगरे पार्टीलाई चुनावमा क्षति पुग्न सक्ने निष्कर्ष निकाल्दै नेतृत्व परिवर्तनको पक्षमा पैरवी गरिरहेको छ। तर अर्को पक्ष भने अहिले मुख्यमन्त्री परिवर्तन गर्दा पार्टी र प्रदेश सरकार दुवै थप संकटमा पर्न सक्ने भन्दै त्यसको विपक्षमा उभिएको छ।

यसैक्रममा मंगलबार एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले मुख्यमन्त्री कार्कीलाई भेटेर राजीनामा दिन दबाब दिएका छन्। पार्टी अध्यक्ष ओलीको सन्देश लिएर पुगेका उनीहरूले पार्टीको हितलाई ध्यानमा राख्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

भेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष खतिवडाले कार्कीलाई राजनीतिक भविष्य लामो रहेको उल्लेख गर्दै सहज रूपमा पद छाडेर नयाँ नेतृत्वलाई अवसर दिन सुझाव दिएको बताए। साथै मन्त्रिमण्डलका सदस्यसमेत परिवर्तन गरेर नयाँ साथीहरूलाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव राखिएको उनको भनाइ छ।

एमालेले प्रदेशको नाम कोसी राख्ने निर्णय गरेपछि असन्तुष्ट बनेको जनजाति समुदायको मत आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार नेतृत्व परिवर्तनको प्रयास भइरहेको विश्लेषण गरिएको छ। आगामी स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राखेर जनजाति समुदायका नेतालाई मुख्यमन्त्री बनाउने ओली पक्षको तयारी देखिन्छ।

मुख्यमन्त्री कार्कीले भने अहिले सरकार परिवर्तन गर्नु उचित नहुने धारणा राख्दै आएका छन्। सरकार हेरफेर गर्दा जनतामा राम्रो सन्देश नजाने उनको तर्क छ। कार्कीले राजीनामा नदिए संसदीय दलका सांसदहरूको हस्ताक्षर जुटाएर हटाउनेसम्मको तयारी एमालेभित्र भइरहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार एमाले नेतृत्वले कार्कीलाई मंसिर १४ गतेअघि नै राजीनामा दिन दबाब दिइरहेको छ। तर कार्की भने केन्द्रीय नेताहरूसँग परामर्श गरेपछि मात्रै आगामी कदमबारे निर्णय लिने मनस्थितिमा छन्।

पार्टी अध्यक्ष ओलीसँग एउटै निर्वाचन क्षेत्रको राजनीतिक सम्बन्धसमेत जोडिएकाले कार्की उनीसँग प्रत्यक्ष टकरावमा जान नचाहेको उनीनिकट स्रोतको भनाइ छ।

यता सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस पनि वर्तमान सरकार परिवर्तनको पक्षमा देखिएका छैनन्। संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठन भएको सरकार फेरबदल गर्दा प्रदेशसभा नै विघटनको जोखिममा पर्न सक्ने उनीहरूको बुझाइ छ। एमालेकै केही सांसद पनि चुनावसम्म वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्।

अध्यक्ष ओली भने कार्कीले पटकपटक मुख्यमन्त्री बन्ने अवसर पाइसकेको भन्दै अब जनजाति समुदायका नेतालाई सरकारको नेतृत्व दिनुपर्ने अडानमा रहेको बताइएको छ।

कार्की हालसम्म तीनपटक कोसी प्रदेशको मुख्यमन्त्री बनिसकेका छन्। उनी पहिलोपटक २०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि २०८० भदौ २२ गते दोस्रोपटक नेतृत्वमा पुगेका कार्की २०८१ वैशाख २७ देखि संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीको जिम्मेवारीमा छन्।

सरकारको नेतृत्व परिवर्तनबारे राजनीतिक रस्साकस्सी चलिरहेका बेला कोसी प्रदेश प्रमुखको पदसमेत रिक्त छ। प्रदेश प्रमुख परशुराम खापुङको कार्यकाल सकिएपछि नयाँ नियुक्ति वा कार्यवाहकको व्यवस्था नहुँदा सरकार गठन, शपथग्रहण र अध्यादेश जारी गर्नेजस्ता संवैधानिक प्रक्रियामा अन्योल थपिएको छ। यसले प्रदेश सरकारको राजनीतिक संकटलाई थप जटिल बनाएको छ।