काठमाडौं,। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का घटना भएका छन् । ती घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (प्राधिकरण/एनडीआरआरएमए) का अनुसार घटनाबाट करिब ६ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा जंगलमा गाईवस्तु चराउन गएकी १५ वर्षीया बालिकामाथि माथिबाट खसेको ढुंगा लाग्दा ज्यान गएको छ ।यस अवधिमा तेह्रथुम, सिरहा, स्याङ्जा, रोल्पा, दाङ, बाँके, सुर्खेत तथा कञ्चनपुरका विभिन्न स्थानमा भएका सर्पदंशका घटनामा नौ जना घाइते भएका छन् । उनीहरूलाई सम्बन्धित अस्पतालमा उपचारका लागि पठाइएको प्राधिकरणले जनाएको छ।
कास्कीको फेवातालमा अचानक आएको हावाहुरी र वर्षाका कारण डुंगा तथा प्याडल बोटमा सवार चार जना अलपत्र परेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ । आगलागीका तीन घटनामा सुनसरी, रौतहट र चितवनमा गरी करिब ६६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । चितवनको भरतपुरस्थित एक विद्युतीय साइकल कम्पनीमा भएको आगलागीबाट मात्रै ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ ।
यस्तै इलाममा बाढीका कारण मेची करिडोर सडक अवरुद्ध भएको छ भने धनकुटा र लमजुङमा पहिरो खस्दा सडक यातायात प्रभावित बनेको छ । जनावर आक्रमणका घटनामा कास्कीमा कुकुरको टोकाइबाट दुई जना र जुम्लामा एक बालिका घाइते भएका छन्। बर्दियामा पाटेबाघको आक्रमणबाट एक किशोरसहित दुई जना घाइते भएका छन् । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्रहरी, स्थानीय तह तथा उद्धार टोली परिचालन गरी आवश्यक प्रतिकार्य तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्