दसौँ राष्ट्रिय खेलकुदका पाँच खेल आजदेखि सुर

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज मंगलबारदेखि पाँच खेलका प्रतिस्पर्धा सुरु हुँदैछन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल अघि नै सञ्चालन हुन लागेका हुन्।

क्रिकेट, फुटबल र बास्केटबल सुर्खेतमा, टेनिस बर्दियामा तथा पौडी नेपालगञ्जमा हुनेछन्।

कुल ३२ खेल समावेश प्रतियोगिताका २३ खेल सुर्खेतमा र बाँकी खेल कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टोलीले ३८४ इभेन्ट्समा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्

यसपटक रजत र कास्य पदक विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उद्घाटन मंसिर १६ गते कर्णाली प्रदेश रंगशालामा र समापन मंसिर २७ गते हुनेछ।

यसैबीच, निर्माण सम्पन्न कर्णाली प्रदेश रंगशाला सोमबार निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरेको छ।