दसैँ–तिहारमा रुकुमपश्चिमका गाउँबस्ती खेलकुदमय, ठाउँठाउँमा प्रतियोगिताको रौनक

रुकुमपश्चिमका गाउँबस्तीमा यतिबेला दसैँ–तिहारको उत्सवसँगै खेलकुद गतिविधि पनि तीव्र बनेका छन्। चाडपर्वको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेटलगायतका प्रतियोगिता आयोजना भइरहेका छन्। स्थानीय युवा क्लब, खेलकुद समूह र समुदायको सक्रियतामा सञ्चालन भइरहेका प्रतियोगिताले गाउँघरमा चाडपर्वको उमङ्ग थपेका छन्।

चौरजहारी नगरपालिकामा यतिबेला आकर्षक पुरस्कार राशिसहितका दुई ठूला फुटबल प्रतियोगिता सञ्चालनमा छन्। वडा नम्बर १ स्थित खेलमैदानमा नाखिरा युवा क्लबले दुई लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार राशिको प्रथम एनवाईसी कप आयोजना गरिरहेको छ। त्यस्तै, वडा नम्बर २ स्थित रंगशालामा शीतल चौरजहारी बी ६७ ले दुई लाख ३० हजार १६७ रुपैयाँ पुरस्कार राशिको दोस्रो शीतल चौरजहारी कप सञ्चालन गरिरहेको छ। उक्त संस्थाले ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरेको छ। यसैबीच, चौरजहारी नगरपालिका–१ मा आइतबारदेखि तेस्रो चौरजहारी वडा नम्बर १ कपअन्तर्गत भलिबल प्रतियोगिता सुरु भएको छ।

मुसीकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सिमानामा रहेको खेलमैदानमा आइतबारदेखि पाँचौँ ट्याखोला गोल्डकपअन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। यसैगरी, मुसीकोट नगरपालिका–९ र त्रिवेणी गाउँपालिका–२ को सीमाक्षेत्रमा शनिबारदेखि चौथो गैरीनेटा कप सञ्चालन भइरहेको छ। त्रिवेणी गाउँपालिका–४ को खुम्चेरीमा पाँचौँ निशान कपअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता भइरहेका छन्। यी दुवै प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य गोपाल शर्माले गर्नुभएको थियो।

सानीभेरी गाउँपालिका–३ स्थित बेलटापु खेलमैदानमा दोस्रो संस्करणको सानीभेरी प्रिमियर लिग क्रिकेट पनि सुरु भएको छ। गत शुक्रबारदेखि जारी प्रतियोगितामा नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै, मुसीकोट नगरपालिका–१ को बराहटाकुरामा आइतबार सातौँ सिद्ध गुफा गोल्डकप सम्पन्न भएको छ। सोही खेलमैदानमा यसअघि दसैँको अवसरमा द लेजेन्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणसमेत सम्पन्न भइसकेको छ।

आगामी कात्तिक १८ गतेदेखि मुसीकोट नगरपालिका–७ मा तीर्थ स्मृति कप आयोजना हुँदैछ। दसैँ–तिहारकै अवसरमा आठबिसकोटको राडीमा ३२औँ चौतारा मेलासमेत आयोजना गरिएको छ। मेलाका अवसरमा खुला महिला तथा पुरुष भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। भलिबल प्रतियोगितामा प्रथम हुने पुरुष टोलीलाई तीन लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक रतन चन्दले जानकारी दिनुभयो।

जिल्लाका अन्य वडा तथा बस्तीमा पनि खेलकुद प्रतियोगिताको चहलपहल बढेको छ। यसअघि दसैँ–तिहारको अवसरमा मुसीकोट नगरपालिका–१३ मा दोस्रो छिबाङ कप, बाँफिकोट गाउँपालिकाको मग्मामा शहीद स्मृति मेला, त्रिवेणी गाउँपालिका–५ मा दोस्रो इन्द्रेणी कप, सानीभेरी गाउँपालिका–१० मा पुरुष भलिबल प्रतियोगिता तथा सानीभेरी गाउँपालिका–३ मा तेस्रो फुक्रु कपलगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्।

रोजगारी, अध्ययन र अन्य कामका सिलसिलामा गाउँबाहिर रहेका युवाहरू चाडपर्वमा घर फर्किने भएकाले खेलकुद प्रतियोगिता उनीहरूका लागि भेटघाट र पुनर्मिलनको अवसरसमेत बनेका छन्। खेलकुदले खेलाडीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै गाउँसमाजमा सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको सम्बन्ध बलियो बनाउन सहयोग पुर्‍याएको खेलाडी नारायण आचार्यले बताउनुभयो।

स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई पहिचान र प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेलेको शीतल चौरजहारी बी ६७ का अध्यक्ष तेज बिष्टले बताउनुभयो। उहाँका अनुसार प्रतियोगिताले विशेषगरी युवा पुस्तालाई सकारात्मक गतिविधिमा सहभागी गराउनुका साथै खेलकुदप्रतिको आकर्षण बढाउन र भविष्यमा दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउन सक्छ।

यद्यपि, जिल्लामा खेलकुदप्रतिको आकर्षण र प्रतियोगिताको सङ्ख्या बढ्दै गए पनि आवश्यक पूर्वाधार, व्यवस्थित खेलमैदान, नियमित प्रशिक्षण र खेलाडीको क्षमता विकासमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। खेलाडीहरूले स्थानीय तह तथा सम्बन्धित निकायले खेलकुद क्षेत्रको विकास, प्रशिक्षणको व्यवस्था र प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।