धनुषामा पतिपत्नी मृत फेला, पत्नीको हत्या गरेको आशंका, ४ वर्षीय छोरा घाइते
धनुषा — धनुषामा पतिपत्नी नै मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा ३० वर्षीया रिनादेवी यादवको हत्या भएको अवस्थामा शव फेला परेको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार रिनाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानअनुसार उमेशले आइतबार बिहान करिब पौने २ बजे ससुराली घरमै पुगेर पत्नीको हत्या गरेको आशंका गरिएको छ। उनी शनिबार राति करिब ९ बजेतिर ससुराली पुगेका थिए।
घटनामा दम्पतीका चार वर्षीय छोरा सम्राटसमेत घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
धनुषाकै गणेशमान चारनाथ नगरपालिका–४ भरतपुर घर भएका उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पत्नीको हत्या गरेको आशंकापछि फरार रहेका उमेशको खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद भएको प्रहरीले जनाएको छ।
मृतक रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने उमेशको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्