दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ हुँदै, निरौला र पौडेलको इजलासमा पेसी
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुने भएको छ।
आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि कार्कीले आफूलाई पुनः आईजीपीमा बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।
यसअघि पनि उक्त रिटको सुनुवाइका लागि दुई पटक पेसी तोकिएको थियो। गत ७ मंसिरमा न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी परे पनि नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै सुनुवाइ सरेको थियो। त्यसपछि ९ मंसिरका लागि अर्को पेसी तोकिएको थियो।
गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।
यसअघि रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्