चोरीको आरोपबाट बढेको रिसइबीले लियो भारतीय नागरिकको ज्यान, हत्या आरोपमा ३७ वर्षीय व्यक्ति पक्राउ

विराटनगरमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पसलबाट सामान चोरी गरेको आरोप लगाउँदै आएको विषयलाई लिएर उत्पन्न रिसइबीकै कारण गुप्ताको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको हो।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–६ निवासी ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ गरेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले मियामाथि आफ्नो पसलबाट सामान चोरी गरेको आरोप लगाउँदै आएका थिए। यही विषयलाई लिएर उनीहरूबीच मनमुटाव बढ्दै गएको थियो। सोही रिसइबीको बदला लिन मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

योजनाअनुसार मियाले गत शुक्रबार राति गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। त्यस क्रममा दुवै जनाले सँगै बसेर मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार मदिरा सेवनपछि मियाले सुरुमा बियरको बोतल र त्यसपछि फलामको रडले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। सोही प्रहारबाट गुप्ताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि शव लुकाउने उद्देश्यले मियाले सिटी सफारी प्रयोग गरेको प्रहरीको भनाइ छ। उनले गुप्ताको शव बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२ स्थित भीमपुरको केसेलिया खोलामा लगेर फालेको अनुसन्धानबाट खुलेको हो।

आइतबार बिहान स्थानीय बासिन्दाले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो।

मृतक गुप्ता भारतको उत्तर प्रदेशस्थित बनारसका बासिन्दा हुन्। उनी लामो समयदेखि विराटनगरमा एक्लै बस्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए।

घटनाबारे प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।