चितवनमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको इच्छाकामना गाउँपालिका–१, कुलबाङगमा जंगली च्याउ सेवनका कारण चेपाङ परिवारका दुई बालबालिकाको ज्यान गएको हो।
मृतकमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको मृत्यु जेठ १ गते भएको थियो भने सञ्जयको उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो।
वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगली च्याउको तरकारी सेवन गरेका थिए। त्यसपछि उनीहरू बिरामी परेका थिए।
तीमध्ये तीन जनालाई जेठ १ गते उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। सोही दिन उपचारका क्रममा नमुनाको मृत्यु भएको हो।
हाल १३ वर्षीया मनिता चेपाङको उपचार जारी छ र उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
स्थानीय प्रशासनले जंगली च्याउ सेवनमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्