काठमाडौं।। नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्दको घोषणा गरेको छ ।
संघले सोमबार साँझ विज्ञप्ति जारी गर्दै वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज आकस्मिक बाहेका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो ।
संघले गत शनिबार (साउन ९ गते) नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको जनाएको छ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूलाई गालीगलौज गरी दुर्व्यवहार गरिएको चिकित्सक संघले जनाएको छ।
संघले सेवा बन्दबाट बिरामीहरूलाई पर्ने असुविधाको लागि क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने विज्ञप्तिमा उल्लेख छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्