काठमाडौँ । यस वर्षको प्रतीक्षित चलचित्र 'छ माया छपक्कै २' को दोस्रो गीत 'मायामा एक्सपयारी डेट हुँदैन' सार्वजनिक भएको छ। सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत छ। रोमान्टिक शैलीको गीतमा चलचित्रका तीन मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको अभिनय छ।

त्रिकोणात्मक प्रेमको सङ्केत

गीतको भिडियोमा श्रीमान्-श्रीमतीको भूमिकामा रहेका दीपक र केकीको प्रेमिल दृश्यको बीचमा सनिशाको प्रवेशले रोचकता थपेको छ। किरण थापाको कोरियोग्राफी रहेको गीतले त्रिकोणात्मक प्रेमको सङ्केत गर्छ। तर सरप्राइज दिन माहिर दीपकको टिमले कस्तो कथा बोलेको छ भन्ने भने असोज ३१ गते फूलपातीपछि थाहा हुनेछ।

निर्माण पक्ष र कलाकार

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमीको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। निर्देशक लामा र दीपकराज गिरीको कथा रहेको चलचित्रको स्क्रिनप्ले र डाइलग दीपकराज गिरीले तयार पारेका हुन्।

दिपाश्री निरौला सल्लाहकारको रूपमा रहेको चलचित्रमा दीपक, केकी र सनिशाका साथमा कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ। चलचित्रका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी छन्।