गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको लेदो र गेग्रानसहितको बाढीले सोती र मान्बु जोड्ने पक्की मोटरेबल पुल बगाएको छ ।

प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ । यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढीमा परेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बाढीले ठूलो भौतिक क्षति गरेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षतिको विवरण भने आएको छैन ।

बाढीले पैयूँ र बगर गाउँका ३५ देखि ४० वटा घर, केही विद्यालय तथा बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको प्रजिअ मिश्रले जानकारी दिए । चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त निर्माणाधीन आयोजनाको क्याम्पसँगै केही उपकरण पनि बगेका छन् ।

बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुर्‍याएको छ ।