गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
कुन–कुन पुल बगे ?
शर्माका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ ।
यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
करिब ३५ घर बगे
बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्