अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भएपछि नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले पाँच वर्षको दीर्घकालीन सोचलाई केन्द्रमा राखेर बजेट ल्याएको स्पष्ट पारे।

उनले आगामी आर्थिक वर्षमा करिब १६ खर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनका आधारमा सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण ४३ प्रतिशतभन्दा धेरै नहुने दाबी गर्दै सरकारले पुराना कार्यक्रम तथा दायित्वलाई निरन्तरता दिने नीति लिएको बताए।

विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को विषयमा सरकार पछि नहट्ने स्पष्ट पार्दै उनले अन्तिम उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए।

उनले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रणाली प्रभावकारी हुने उल्लेख गर्दै आर्थिक उपलब्धि हासिल गर्न सरकारले त्यसतर्फ केन्द्रित भएर कार्यक्रम अघि बढाएको बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले नेपालको वैदेशिक मुद्रा सञ्चितिको मुख्य आधार विप्रेषण रहेको उल्लेख गर्दै दीर्घकालीन आर्थिक स्थायित्वका लागि स्वदेशी उत्पादन वृद्धि र निर्यात विस्तारमा जोड दिनुपर्ने धारणा राखे।

उनले आयातमुखी अर्थतन्त्रलाई क्रमशः उत्पादनमुखी बनाउँदै निर्यात प्रवर्द्धन गर्न सके मात्रै वैदेशिक मुद्रा सञ्चिति दिगो बन्ने बताए।