चितवन, ।। उपचारमा आउने बिरामीले सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैँले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा गत एक वर्ष तीन हजार ८३५ युनिट रगत सङ्कलन भएको छ ।
हरेक साताको सोमबार, बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । विसं २०८१ जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्तसञ्चार केन्द्रका अधिकारी विष्णुप्रसाद बाँस्तोलाले ती दिनमा बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान गर्न सकिने बताए।
रक्तदान गर्नेलाई खाजाको व्यवस्था गरिनुका साथै अस्पतालले प्रमाणपत्र पनि दिने गरेको छ । उनका अनुसार खाजाको खर्च भरतपुर महानगरपालिकाले भुक्तानी गर्दछ । बिरामीका आफन्तहरूबाट धेरै रगत सङ्कलन हुने गरेको छ । कतिपय सङ्घ संस्थाले आफ्नो विशेष दिन पारेर रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् ।
साथै बाहिर गएर पनि रगत सङ्कलन गर्ने गरिएको केन्द्रका अधिकारी बाँस्तोलाले जानकारी दिए। अस्पतालका बिरामीलाई यहाँ सङ्कलन भएको रगतले नपुग्ने भए पनि केही हदसम्म आकस्मिक अवस्थामा सहयोग पुगेको उनको भनाइ छ । अस्पतालले बाँस्तोलाको नेतृत्वमा प्राविधिक र सहयोगी गरी पाँच जनाको टिमलाई रगत सङ्कलनमा खटाउँदै आएको छ ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्